प्रदिप गिरीले कुनै आलेखमा भने जस्तै “नायकको खोजी गर्ने समाज अभागी समाज हो ” । हामी त्यही समाजका हिस्सा हौँ जो एउटा नायकको खोजीमा भौतारिरहेको छ । सायद आशा गरिएका नेतृत्व विचलित भएकाले होला हामी हरेक कठिन समयमा एउटा नायकको खोजीमा हुन्छौँ ।
चुनावको पूर्व सन्ध्यामा मैले मेरो कक्षा ६ मा पढ्ने बहिनीलाई सोधे “तिमीले भोट के मा हाल्ने नि?” उसले तुरुन्तै जवाफ फर्काइ “बालेन” । मैले ठट्टाको लागि यो प्रश्न गरेको थिए । तर उसको उत्तर सुनेर एक छिन छक्क परे । भोट दिने उमेर उसको पुगेको थिएन । तर उसले दिएको उत्तरले धेर थोक संकेत गर्दछ ।
प्रसिद्ध लेखक युवाल नोहा हरारिले भने जस्तै सहकार्य गर्नका लागि साझा कथाहरूमा विश्वास गर्नु पर्दछ । काठमाडौँ वा धरानका जनताले विश्वास गरेको साझा कथा के हो ? सायद भरोसा योग्य थिए ति साझा कथाहरू । बालेन वा हर्क साम्पाङहरुको विजय यिनै साझा कथाको निर्माणको जगमा भएको छ । आममानिसले आफ्ना सपना र भविष्य बालेन र हर्क साम्पाङहरुको आँखामा देखे र त उनीहरुलाइ विजय गराइदिए ।
सपना देख्नु पर्छ तर त्यसका पछाडि बलियो जगको निर्माण पनि गर्नु पर्दछ । रुमानी सपनाहरूले कसरी नेतृत्वहरूको व्यक्तित्वको क्षयिकरण गर्छ अव कुनै व्याख्यात्मक टिप्पणीको खाँचो पर्दैन । यसर्थ, चर्चाको शिखरमा उभिएका बालेन वा हर्क साम्पाङहरु राजनीतिको गलत ओरिएन्टेसनमा फस्छन् कि आफूलाई सम्हालदै संयमता पूर्वक आफ्नो कार्यभार समाल्छन् ? यसको उत्तर केही महिनाहरूमा स्पष्ट हुँदै जानेछन् । आजलाई भने हामी उनीहरुलाई शुभकामना र शुभेच्छा दिँदै शङ्काको सुविधा दिन सकिन्छ ।
यहाँ चर्चा बालेन वा हर्क साम्पाङको गर्न खोजिएको होइन । यस सम्बन्धमा नेपाली मिडियामा धेरै आलेख वा अन्तरवार्ता आइ सकेका छन् भने केही अझै आउने क्रममा छन् । बालेन वा हर्क साम्पाङहरुको विजय सङ्केतहरू हुन् । सुरुमा सङ्केतहरू स्पष्ट देखिदैँनन् तर जव निर्णायक धक्का लगाइन्छ सङ्केतहरूले कोरेको चित्र स्पष्ट हुन जान्छ ।
***
सम्भवतः यही मङ्सिरमा केन्द्रको चुनाव हुनेछ । यही चुनावको नतिजाले आगामी प्रधानमन्त्री को हुने भन्ने प्रश्नको जवाफ दिनेछ । यो चुनाव पछि कुनै आमूल चमत्कार नभए हामीले झेल्दै आएका यिनै शीर्ष नेता मध्ये एक नै प्रधानमन्त्री हुनेछन् । यो इतिहासको पुनरागमन मात्रै हुने छैन । यो त एउटा झर्को लाग्दो अट्टहास हुनेछ । सायद यही भविष्यको दृश्यको पूर्वाभास भएर नै होला हामी नायकको खोजीमा भौतारिरहेका छौँ । यसर्थ, यो खोजी केवल रुमानी खोजी मात्रै होइन बरु परिवर्तन प्रति देखाइएको प्रतिवद्धता पनि हो ।
अव सवाल केवल नायकको मात्रै रहेन । इतिहास बारम्बार दोहोरिँदा त्यसले आम मानिसमा नैराश्यता मात्रै जन्माउँदैन , यसले कहिलेकाँही विद्रोह पनि जन्माउँछ । यही विद्रोहको प्रतीक बालेन र हर्क साम्पाङहरु हुन् । प्रतीकहरू सुरुमा सामान्य लाग्छन् तर कालान्तरमा तिनीहरूले कोरेको चित्र स्पष्ट देखिन्छ ।
***
चुनाव सकिएको छ । यो लेख लेख्दै गर्दा लगभग सबै स्थानीय तहको नतिजा पनि आएको छ । बदर मत उल्लेख्य भएको यस निर्वाचनले हाम्रो मतपत्र र मतदाता शिक्षा प्रति प्रश्न चिन्ह खडा गरेका छन् । केवल चुनाव भनेको हार वा जित मात्रै होइन । यो आममानिसको प्रत्यक्ष र सक्रिय सहभागिताको साझा चौतारी हो । बदर मतले आममानिसको अभिव्यक्तिमा बाधा सृजना गर्दछ । आममानिस र भुइँ मान्छेको मतको अभिव्यक्त नहुने चुनावले हाम्रो लोकतन्त्रलाई बलियो बनाउँदैन । किशोर अवस्थामा रहेको हाम्रो गणतन्त्र हाम्रो सामूहिक चेतनाको जगमा मात्रै समृद्ध बन्न सक्छ ।
बदर मतको सवाल मात्रै होइन कुल मतको तुलनामा खसेको मतको सङ्ख्या पनि कम देखिन्छ । आफ्नो मत प्रकट गर्नु पनि नागरिकको दायित्व हो । तर हाम्रा शासकहरूको कुशासनको उपजले पनि हुन सक्छ केही मानिसमा चुनाव प्रति खासै उत्साह देखिदैन । यसर्थ, आगामी दिनमा नागरिकहरूलाई मतदान गर्न प्रेरित गर्ने काम सरोकार निकायहरू र राजनीतिक दलहरूको हो ।
***
हाम्रा संस्थाहरू कमजोर छन् । सायद यही कारणले होला हामी प्राय नायकको खोजीमा हुन्छौँ । पात्रहरू बद्लिन्छन् । तर नायकको खोजीको क्रम भने फेरिदैन । सायद यो नैराश्यताको उपज पनि हुन सक्छ वा परिवर्तन प्रतिको तिव्र प्रतीक्षा । जे भए पनि यो नागरिकको सामूहिक अभिव्यक्ति हो । नागरिकको सामूहिक अभिव्यक्ति गलत हुन सक्छ तर यसलाई मूलधारका राजनीतिक पार्टीले नजरअन्दाज गर्न मिल्दैन । यसर्थ, एउटा नायकको खोजीमा भौतारिरहेको समाजलाई दोष दिएर होइन जिम्मेवार वहन गरेर सही दिशानिर्देश गर्नु हाम्रा राजनीतिक पार्टीको दायित्व हो ।
पत्रकार तथा लेखक विजय कुमारले भने जस्तै “हामीले हाम्रो औकात अनुसारको नेता पाउँछौँ” । यो अर्ध सत्य हो वा पुरै सत्य पनि होला । तर राजनीतिको उद्देश्य यो होइन । समाजलाई सही बाटोमा हिडाउने र उचित दिशानिर्देश गर्नु नै हाम्रो राजनीतिक पार्टीको उद्देश्य हुनु पर्दछ ।
***
यस चुनावले मतदाताको मनोविज्ञान पनि परिवर्तन भएको केही संकेतहरु दियो । मतदाताहरुलाई आफ्ना निजी सम्पत्ति ठान्ने मूल धारका राजनीतिक दललाई यो गतिलो शिक्षा हो । यसले पक्कै पनि आगामी दिनमा मूल धारका राजनीतिक दललाई सच्चिन झकझकाउने छ । यदि आफूलाई परिवर्तन नगर्ने हो भने आगामी दिनमा आममानिसले यो भन्दा अझै गहन शिक्षा दिनेछन् जुन निर्णायक हुनेछ ।
अहिलेको समयमा युवाहरूको जनसङ्ख्या पनि उल्लेख्य छ । सायद यही नै निर्णायक धक्का लगाउन पर्याप्त आधार हो । बालेन वा हर्क साम्पाङको उदय केवल संयोग मात्रै हो कि यो एउटा संकेत हो ? यसको लागि आगामी प्रतिनिधिसभा र प्रदेश सभाको चुनावी नतिजाको प्रतीक्षा गर्नु पर्ने हुन्छ । सायद आगामी दिनहरूले अझ स्पष्ट संकेतहरु दिने छन् ।
***
अत्यन्तै राम्रो विचार सहितको सामाग्री रहेको छ। सरल र स्पस्ट येस्को सुन्दर पक्ष हो।
ReplyDeleteगजब।
ReplyDelete