Skip to main content

एउटा नायकको खोजीमा !


प्रदिप गिरीले कुनै आलेखमा भने जस्तै “नायकको खोजी गर्ने समाज अभागी समाज हो ” । हामी त्यही समाजका हिस्सा हौँ जो एउटा नायकको खोजीमा भौतारिरहेको छ । सायद आशा गरिएका नेतृत्व विचलित भएकाले होला हामी हरेक कठिन समयमा एउटा नायकको खोजीमा हुन्छौँ । 

चुनावको पूर्व सन्ध्यामा मैले मेरो कक्षा ६ मा पढ्ने बहिनीलाई सोधे “तिमीले भोट के मा हाल्ने नि?” उसले तुरुन्तै जवाफ फर्काइ “बालेन” । मैले ठट्टाको लागि यो प्रश्न गरेको थिए । तर उसको उत्तर सुनेर एक छिन छक्क परे । भोट दिने उमेर उसको पुगेको थिएन । तर उसले दिएको उत्तरले धेर थोक संकेत गर्दछ । 

प्रसिद्ध लेखक युवाल नोहा हरारिले भने जस्तै सहकार्य गर्नका लागि साझा कथाहरूमा विश्वास गर्नु पर्दछ । काठमाडौँ वा धरानका जनताले विश्वास गरेको साझा कथा के हो ? सायद भरोसा योग्य थिए ति साझा कथाहरू । बालेन वा हर्क साम्पाङहरुको विजय यिनै साझा कथाको निर्माणको जगमा भएको छ । आममानिसले आफ्ना  सपना र भविष्य बालेन र हर्क साम्पाङहरुको आँखामा देखे र त उनीहरुलाइ विजय गराइदिए । 

सपना देख्नु पर्छ तर त्यसका पछाडि बलियो जगको निर्माण पनि गर्नु पर्दछ । रुमानी सपनाहरूले कसरी नेतृत्वहरूको व्यक्तित्वको क्षयिकरण गर्छ अव कुनै व्याख्यात्मक टिप्पणीको खाँचो पर्दैन । यसर्थ, चर्चाको शिखरमा उभिएका बालेन वा हर्क साम्पाङहरु राजनीतिको गलत ओरिएन्टेसनमा फस्छन् कि आफूलाई सम्हालदै संयमता पूर्वक आफ्नो कार्यभार समाल्छन् ? यसको उत्तर केही महिनाहरूमा स्पष्ट हुँदै जानेछन् । आजलाई भने हामी उनीहरुलाई शुभकामना र शुभेच्छा दिँदै शङ्काको सुविधा दिन सकिन्छ  । 

यहाँ चर्चा बालेन वा हर्क साम्पाङको गर्न खोजिएको होइन । यस सम्बन्धमा नेपाली मिडियामा धेरै आलेख वा अन्तरवार्ता आइ सकेका छन् भने केही अझै आउने क्रममा  छन् । बालेन वा हर्क साम्पाङहरुको विजय सङ्केतहरू हुन् । सुरुमा सङ्केतहरू स्पष्ट देखिदैँनन् तर जव निर्णायक धक्का लगाइन्छ सङ्केतहरूले कोरेको चित्र स्पष्ट हुन जान्छ ।

                                                                              ***                 

सम्भवतः यही मङ्सिरमा केन्द्रको चुनाव हुनेछ । यही चुनावको नतिजाले आगामी प्रधानमन्त्री को हुने भन्ने प्रश्नको जवाफ दिनेछ । यो चुनाव पछि कुनै आमूल चमत्कार नभए हामीले झेल्दै आएका यिनै शीर्ष नेता मध्ये एक नै प्रधानमन्त्री हुनेछन् । यो इतिहासको पुनरागमन मात्रै हुने छैन । यो त एउटा झर्को लाग्दो अट्टहास हुनेछ । सायद यही भविष्यको दृश्यको पूर्वाभास भएर नै होला हामी नायकको खोजीमा भौतारिरहेका छौँ । यसर्थ, यो खोजी केवल रुमानी खोजी मात्रै होइन बरु परिवर्तन प्रति देखाइएको प्रतिवद्धता पनि हो । 

 अव सवाल केवल नायकको मात्रै रहेन । इतिहास बारम्बार दोहोरिँदा त्यसले आम मानिसमा नैराश्यता मात्रै जन्माउँदैन , यसले कहिलेकाँही विद्रोह पनि जन्माउँछ । यही विद्रोहको प्रतीक बालेन र हर्क साम्पाङहरु हुन् । प्रतीकहरू सुरुमा सामान्य लाग्छन् तर कालान्तरमा तिनीहरूले कोरेको चित्र स्पष्ट देखिन्छ ।

***

चुनाव सकिएको छ । यो लेख लेख्दै गर्दा लगभग सबै स्थानीय तहको नतिजा पनि आएको छ । बदर मत उल्लेख्य भएको यस निर्वाचनले हाम्रो मतपत्र र मतदाता शिक्षा प्रति प्रश्न चिन्ह खडा गरेका छन् । केवल चुनाव भनेको हार वा जित मात्रै होइन । यो आममानिसको प्रत्यक्ष र सक्रिय सहभागिताको साझा चौतारी हो । बदर मतले आममानिसको अभिव्यक्तिमा बाधा सृजना गर्दछ । आममानिस र भुइँ मान्छेको मतको अभिव्यक्त नहुने चुनावले हाम्रो लोकतन्त्रलाई बलियो बनाउँदैन । किशोर अवस्थामा रहेको हाम्रो गणतन्त्र हाम्रो सामूहिक चेतनाको जगमा मात्रै समृद्ध बन्न सक्छ । 

बदर मतको सवाल मात्रै होइन कुल मतको तुलनामा खसेको मतको सङ्ख्या पनि कम देखिन्छ । आफ्नो मत प्रकट गर्नु पनि नागरिकको दायित्व हो । तर हाम्रा शासकहरूको कुशासनको उपजले पनि हुन सक्छ केही मानिसमा चुनाव प्रति खासै उत्साह देखिदैन । यसर्थ, आगामी दिनमा नागरिकहरूलाई मतदान गर्न प्रेरित गर्ने काम सरोकार निकायहरू र राजनीतिक दलहरूको हो ।

***

हाम्रा संस्थाहरू कमजोर छन् । सायद यही कारणले होला हामी प्राय नायकको खोजीमा हुन्छौँ । पात्रहरू बद्लिन्छन् । तर नायकको खोजीको क्रम भने फेरिदैन । सायद यो नैराश्यताको उपज पनि हुन सक्छ वा परिवर्तन प्रतिको तिव्र प्रतीक्षा । जे भए पनि यो नागरिकको सामूहिक अभिव्यक्ति हो । नागरिकको सामूहिक अभिव्यक्ति गलत हुन सक्छ तर यसलाई मूलधारका राजनीतिक पार्टीले नजरअन्दाज गर्न मिल्दैन । यसर्थ, एउटा नायकको खोजीमा भौतारिरहेको समाजलाई दोष दिएर होइन जिम्मेवार वहन गरेर सही दिशानिर्देश गर्नु हाम्रा राजनीतिक पार्टीको दायित्व हो । 

पत्रकार तथा लेखक विजय कुमारले भने जस्तै “हामीले हाम्रो औकात अनुसारको नेता पाउँछौँ” । यो अर्ध सत्य हो वा पुरै सत्य पनि होला । तर राजनीतिको उद्देश्य यो होइन । समाजलाई सही बाटोमा हिडाउने र उचित दिशानिर्देश गर्नु नै हाम्रो राजनीतिक पार्टीको उद्देश्य हुनु पर्दछ ।

***

यस चुनावले मतदाताको मनोविज्ञान पनि परिवर्तन भएको केही संकेतहरु दियो । मतदाताहरुलाई आफ्ना निजी सम्पत्ति ठान्ने मूल धारका राजनीतिक दललाई यो गतिलो शिक्षा हो । यसले पक्कै पनि आगामी दिनमा मूल धारका राजनीतिक दललाई सच्चिन झकझकाउने छ । यदि आफूलाई परिवर्तन नगर्ने हो भने आगामी दिनमा आममानिसले यो भन्दा अझै गहन शिक्षा दिनेछन् जुन निर्णायक हुनेछ । 

अहिलेको समयमा युवाहरूको जनसङ्ख्या पनि उल्लेख्य छ । सायद यही नै निर्णायक धक्का लगाउन पर्याप्त आधार हो । बालेन वा हर्क साम्पाङको उदय केवल संयोग मात्रै हो कि यो एउटा संकेत हो ? यसको लागि आगामी प्रतिनिधिसभा र प्रदेश सभाको चुनावी नतिजाको प्रतीक्षा गर्नु पर्ने हुन्छ । सायद आगामी दिनहरूले अझ स्पष्ट संकेतहरु दिने छन् । 

***




Comments

  1. अत्यन्तै राम्रो विचार सहितको सामाग्री रहेको छ। सरल र स्पस्ट येस्को सुन्दर पक्ष हो।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

जन्मदिनः एक आकाशवाणी !

इमानदार भएर भन्ने हो भने मलाई स्कुले दिनका कुनै पनि जन्मदिनको सम्झना छैन । बाल्यकालमा जन्मदिन गायब भएको जस्तो लाग्छ । हिउँदका चिसा दिन छिट्टै सकिने भएर पनि होला मलाई मेरै जन्मदिनको कुनै विषेश सम्झना छैन । आज पनि मलाई आफ्नै जन्मदिन खासै महत्वपूर्ण लाग्दैन । बरु प्रत्येक वर्ष कुनै आकाशवाणीबाट “तँ बूढो भइछस्” भनेको जस्तो लाग्छ यी जन्मदिनहरू । केही समय पछि स्मृतिहरू पनि धमिलो हुने रहेछन् । सायद स्मृतिहरूलाई पनि बेलाबेलामा नवीकरण गर्नु आवश्यक हुने रहेछ । एउटै जुनिमा जसरी विविध स्मृतिहरू जम्मा भएका छन् सम्झिँदा यी सबैको न्यास्रो लाग्ने रहेछ । भनिन्छ जीवन भनेको सम्झनै सम्झनाको माला हो । बाल्यकालमा छिमेकी भाइबहिनीको जन्मदिन मनाएका पलहरू स्मरणीय छन् । ति जन्मदिन दुई कुराले विशेष हुने गर्दथे – नेपाली फिल्म र केक । तर यस बिचमा आफ्नै जन्मदिनको भने सम्झना हुँदैन थियो । जन्मदिन नियमित दिनकै स्वभाविक स्विकारोक्ति जस्तो लाग्थ्यो हामी सबैलाई । आज पनि मलाई जन्मदिन नियमित दिनकै निरन्तरता जस्तो लाग्छ । विद्यालयका दिनहरूमा हाजिरजवाफका प्रश्नोत्तरमा ज्यादा रुचि थियो । समयसँगै हाजिरजवाफका प्रश्न उत्तरहरू बो...

प्रेमको किनार

“म को हुँ?” भन्ने मैले बुझाउन नपाउँदै  हामीले फरक फरक बाटोहरू रोज्यौँ यदि चिनेको भए म को हुँ तिमीले वा बुझाएको भए मैले सायद तिमीले गर्ने थियौ एउटा अग्लो प्रेम  वा गर्ने थियौ सबैभन्दा ठुलो घृणा घृणा नै सही त्यो तिम्रो हृदयको अभिव्यक्ति हुने थियो  प्रेम होस वा घृणा ति सबै इमानदार हुने थिए  आज नदिको अर्को किनारमा उभिएर तिमीले न प्रेम गर्न सकिरहेकी छौँ न घृणा ! लाग्छ एउटा रिक्तताले म घेरिरहेको छु  कुनै क्याफेको कुनाको कुर्चीमा बसेर  म टोलाइरहेको छु  यी रिक्तता कसरी भरिन्थे  यदि तिमी आएको भए मेरा पाइलाहरू पछ्याउँदै वा यदि मैले साहस गरेको भए तिम्रा पदचापहरू पछ्याउँने ! हामी नदिको दुई किनारमा उभिरहेका छौँ  लाग्छ हामीले आफ्ना अस्तित्व जोगाउन भए पनि दुई विपरित किनारमा उभिरहनु पर्दछ  लाग्छ हामीले फरक फरक बाटोहरूमा हिँडेर जोगाइरहेका छौँ आफ्नो आफ्नो पहिचान ! तिमी आएकी भए पनि त जाने थियौ कुनै दिन  एउटा भव्य महाप्रस्थानमा लाग्छ तिमी आएकी भए पनि  मैले जुनसुकै वेला गर्नु पर्थ्यो बिदाइको तयारी तिमी आएनौ र तिमीले मलाई लगाएको सबैभन्दा ठुलो गुन यह...

छुट्टि

उसले पहिलो छुट्टि मालिकसँग माग्यो र, गाउँभरि उ लाहुरे घोषित भयो पहिलो विदामा उसको घरले एउटा नयाँ जस्तापाता पायो र, बा-आमाका मुहारले मुस्कान पायो !   उसले दोस्रो छुट्टि मालिकसँग माग्यो र गाँउभरि उ नयाँ बेहुला घोषित भयो दोस्रो विदामा उसले घरमा दुलहि ल्यायो र, श्रिमानको ताज पहिरिएर उ फर्कियो !   आफ्नो तेस्रो छुट्टिमा उ निकै हतारिएको थियो र गाउभरि उ छोरिको पिता घोषित भयो छोरिको मुहारमा आफ्नो भविश्य देख्यो देख्यो एउटा नयाँ आशा र नौलो विहानि यसरि पिताको जिम्मेवारि लिएर उ फर्कियो !   आफ्नो चौथो छुट्टिमा उ घर आयो यसपटक उ वेचैन थियो र गाउँभरि उ शोकाकुल छ भन्ने घोषणा भयो यसरि आफ्ना बा-आमाका तस्विर र सम्झना लिएर उ फर्कियो !     यसपटक छुट्टिमा आउँदा उ मलिन थियो र गाउँभरि उ छोरिको माइति घोषित भयो यसरि आफ्नो प्रिय छोरिलाइ विदा गरेर मन भारि बनाउँदै उ फर्कियो !   यसपटक उसले मालिकसँग अन्तिम छुट्टि माग्यो यसपटक उ मौन थियो उ शान्त थियो उसमा कुनै वेचैनि थिएन उ त नदिको किनारमा निदाइरहेको थियो जसले आफ्नो पसिना र जवानि मालिक र परदेशलाइ दिएर थाकेको थियो यसरि, गाउँभरि श्रिमतिलाइ वि...