“म को हुँ?” भन्ने मैले बुझाउन नपाउँदै
हामीले फरक फरक बाटोहरू रोज्यौँ
यदि चिनेको भए म को हुँ तिमीले
वा बुझाएको भए मैले सायद
तिमीले गर्ने थियौ एउटा अग्लो प्रेम
वा गर्ने थियौ सबैभन्दा ठुलो घृणा
घृणा नै सही त्यो तिम्रो हृदयको अभिव्यक्ति हुने थियो
प्रेम होस वा घृणा ति सबै इमानदार हुने थिए
आज नदिको अर्को किनारमा उभिएर
तिमीले न प्रेम गर्न सकिरहेकी छौँ न घृणा !
लाग्छ एउटा रिक्तताले म घेरिरहेको छु
कुनै क्याफेको कुनाको कुर्चीमा बसेर
म टोलाइरहेको छु
यी रिक्तता कसरी भरिन्थे
यदि तिमी आएको भए मेरा पाइलाहरू पछ्याउँदै
वा यदि मैले साहस गरेको भए तिम्रा पदचापहरू पछ्याउँने !
हामी नदिको दुई किनारमा उभिरहेका छौँ
लाग्छ हामीले आफ्ना अस्तित्व जोगाउन भए पनि
दुई विपरित किनारमा उभिरहनु पर्दछ
लाग्छ हामीले फरक फरक बाटोहरूमा हिँडेर
जोगाइरहेका छौँ आफ्नो आफ्नो पहिचान !
तिमी आएकी भए पनि त
जाने थियौ कुनै दिन
एउटा भव्य महाप्रस्थानमा
लाग्छ तिमी आएकी भए पनि
मैले जुनसुकै वेला गर्नु पर्थ्यो बिदाइको तयारी
तिमी आएनौ र तिमीले मलाई लगाएको सबैभन्दा ठुलो गुन यही थियो !
❤️
ReplyDelete