जीवनका ती मोडहरु
जहाँ तिम्रा सुन्दर आँखाहरु भेटिन्छन्
जीवनका ती घुम्तिहरु
जहाँ तिम्रा मुस्कानहरु पोखिन्छन्
जीवनका ती बाङ्गाटिङ्गा गल्लिहरु
जहाँ तिम्रा पदचापहरु भेटिन्छन्
ती सवैलाइ नियाल्नु छ एकपटक !
जोखेर तिम्रा स्नेहरुको घनत्व
तौलेर तिम्रा करुणाहरुको गुरुत्व
नापेर तिम्रा व्यक्तित्वको विराटता
निशव्द हुनु छ एकपटक !
उदाउनु र अस्ताउनु भन्दा पर
स्वागत र विदाइ भन्दा पर
स्विकारोक्ति र अस्विकारोक्ति भन्दा पर
तिमीलाइ महशुस गर्नु छ एकपटक !
तिम्रा प्रत्येक वाणिमा
खोज्नु छ दर्शन
तिम्रा प्रत्येक वाक्यमा
खोज्नु छ जीवनको अर्थ
तिम्रा प्रत्येक हेराइमा
खोज्नु छ दृष्टिकोण एकपटक !
जूनेलि रातमा
खोज्नु छ आकाशमा
तिम्रा आकृति,
खोलाको किनारमा
खोज्नु छ वालुवामा
तिम्रा पदचापहरु,
खोज्नु छ समयका फेदमा
जम्मा भएका रिक्तताहरु
अनि भर्नु छ त्यसलाइ
तिमीले गुनगुनाएका ध्वनिहरुले एकपटक !
wow dai🎈
ReplyDelete