Skip to main content

मौन प्रतिक्षा !


जीवनका ती मोडहरु

जहाँ तिम्रा सुन्दर आँखाहरु भेटिन्छन्

जीवनका ती घुम्तिहरु

जहाँ तिम्रा मुस्कानहरु पोखिन्छन्

जीवनका ती बाङ्गाटिङ्गा गल्लिहरु

जहाँ तिम्रा पदचापहरु भेटिन्छन्

ती सवैलाइ नियाल्नु छ एकपटक !

 

जोखेर तिम्रा स्नेहरुको घनत्व

तौलेर तिम्रा करुणाहरुको गुरुत्व

नापेर तिम्रा व्यक्तित्वको विराटता

निशव्द हुनु छ एकपटक !

 

उदाउनु र अस्ताउनु भन्दा पर

स्वागत र विदाइ भन्दा पर

स्विकारोक्ति र अस्विकारोक्ति भन्दा पर

तिमीलाइ महशुस गर्नु छ एकपटक !

 

तिम्रा प्रत्येक वाणिमा

खोज्नु छ दर्शन

तिम्रा प्रत्येक वाक्यमा

खोज्नु छ जीवनको अर्थ

तिम्रा प्रत्येक हेराइमा

खोज्नु छ दृष्टिकोण एकपटक !


जूनेलि रातमा

खोज्नु छ आकाशमा

तिम्रा आकृति,

खोलाको किनारमा

खोज्नु छ वालुवामा

तिम्रा पदचापहरु,

खोज्नु छ समयका फेदमा

जम्मा भएका रिक्तताहरु

अनि भर्नु छ त्यसलाइ

तिमीले गुनगुनाएका ध्वनिहरुले एकपटक !








Comments

Post a Comment

Popular posts from this blog

जन्मदिनः एक आकाशवाणी !

इमानदार भएर भन्ने हो भने मलाई स्कुले दिनका कुनै पनि जन्मदिनको सम्झना छैन । बाल्यकालमा जन्मदिन गायब भएको जस्तो लाग्छ । हिउँदका चिसा दिन छिट्टै सकिने भएर पनि होला मलाई मेरै जन्मदिनको कुनै विषेश सम्झना छैन । आज पनि मलाई आफ्नै जन्मदिन खासै महत्वपूर्ण लाग्दैन । बरु प्रत्येक वर्ष कुनै आकाशवाणीबाट “तँ बूढो भइछस्” भनेको जस्तो लाग्छ यी जन्मदिनहरू । केही समय पछि स्मृतिहरू पनि धमिलो हुने रहेछन् । सायद स्मृतिहरूलाई पनि बेलाबेलामा नवीकरण गर्नु आवश्यक हुने रहेछ । एउटै जुनिमा जसरी विविध स्मृतिहरू जम्मा भएका छन् सम्झिँदा यी सबैको न्यास्रो लाग्ने रहेछ । भनिन्छ जीवन भनेको सम्झनै सम्झनाको माला हो । बाल्यकालमा छिमेकी भाइबहिनीको जन्मदिन मनाएका पलहरू स्मरणीय छन् । ति जन्मदिन दुई कुराले विशेष हुने गर्दथे – नेपाली फिल्म र केक । तर यस बिचमा आफ्नै जन्मदिनको भने सम्झना हुँदैन थियो । जन्मदिन नियमित दिनकै स्वभाविक स्विकारोक्ति जस्तो लाग्थ्यो हामी सबैलाई । आज पनि मलाई जन्मदिन नियमित दिनकै निरन्तरता जस्तो लाग्छ । विद्यालयका दिनहरूमा हाजिरजवाफका प्रश्नोत्तरमा ज्यादा रुचि थियो । समयसँगै हाजिरजवाफका प्रश्न उत्तरहरू बो...

प्रेमको किनार

“म को हुँ?” भन्ने मैले बुझाउन नपाउँदै  हामीले फरक फरक बाटोहरू रोज्यौँ यदि चिनेको भए म को हुँ तिमीले वा बुझाएको भए मैले सायद तिमीले गर्ने थियौ एउटा अग्लो प्रेम  वा गर्ने थियौ सबैभन्दा ठुलो घृणा घृणा नै सही त्यो तिम्रो हृदयको अभिव्यक्ति हुने थियो  प्रेम होस वा घृणा ति सबै इमानदार हुने थिए  आज नदिको अर्को किनारमा उभिएर तिमीले न प्रेम गर्न सकिरहेकी छौँ न घृणा ! लाग्छ एउटा रिक्तताले म घेरिरहेको छु  कुनै क्याफेको कुनाको कुर्चीमा बसेर  म टोलाइरहेको छु  यी रिक्तता कसरी भरिन्थे  यदि तिमी आएको भए मेरा पाइलाहरू पछ्याउँदै वा यदि मैले साहस गरेको भए तिम्रा पदचापहरू पछ्याउँने ! हामी नदिको दुई किनारमा उभिरहेका छौँ  लाग्छ हामीले आफ्ना अस्तित्व जोगाउन भए पनि दुई विपरित किनारमा उभिरहनु पर्दछ  लाग्छ हामीले फरक फरक बाटोहरूमा हिँडेर जोगाइरहेका छौँ आफ्नो आफ्नो पहिचान ! तिमी आएकी भए पनि त जाने थियौ कुनै दिन  एउटा भव्य महाप्रस्थानमा लाग्छ तिमी आएकी भए पनि  मैले जुनसुकै वेला गर्नु पर्थ्यो बिदाइको तयारी तिमी आएनौ र तिमीले मलाई लगाएको सबैभन्दा ठुलो गुन यह...

छुट्टि

उसले पहिलो छुट्टि मालिकसँग माग्यो र, गाउँभरि उ लाहुरे घोषित भयो पहिलो विदामा उसको घरले एउटा नयाँ जस्तापाता पायो र, बा-आमाका मुहारले मुस्कान पायो !   उसले दोस्रो छुट्टि मालिकसँग माग्यो र गाँउभरि उ नयाँ बेहुला घोषित भयो दोस्रो विदामा उसले घरमा दुलहि ल्यायो र, श्रिमानको ताज पहिरिएर उ फर्कियो !   आफ्नो तेस्रो छुट्टिमा उ निकै हतारिएको थियो र गाउभरि उ छोरिको पिता घोषित भयो छोरिको मुहारमा आफ्नो भविश्य देख्यो देख्यो एउटा नयाँ आशा र नौलो विहानि यसरि पिताको जिम्मेवारि लिएर उ फर्कियो !   आफ्नो चौथो छुट्टिमा उ घर आयो यसपटक उ वेचैन थियो र गाउँभरि उ शोकाकुल छ भन्ने घोषणा भयो यसरि आफ्ना बा-आमाका तस्विर र सम्झना लिएर उ फर्कियो !     यसपटक छुट्टिमा आउँदा उ मलिन थियो र गाउँभरि उ छोरिको माइति घोषित भयो यसरि आफ्नो प्रिय छोरिलाइ विदा गरेर मन भारि बनाउँदै उ फर्कियो !   यसपटक उसले मालिकसँग अन्तिम छुट्टि माग्यो यसपटक उ मौन थियो उ शान्त थियो उसमा कुनै वेचैनि थिएन उ त नदिको किनारमा निदाइरहेको थियो जसले आफ्नो पसिना र जवानि मालिक र परदेशलाइ दिएर थाकेको थियो यसरि, गाउँभरि श्रिमतिलाइ वि...