Skip to main content

जन्मदिनः एक आकाशवाणी !

इमानदार भएर भन्ने हो भने मलाई स्कुले दिनका कुनै पनि जन्मदिनको सम्झना छैन । बाल्यकालमा जन्मदिन गायब भएको जस्तो लाग्छ । हिउँदका चिसा दिन छिट्टै सकिने भएर पनि होला मलाई मेरै जन्मदिनको कुनै विषेश सम्झना छैन । आज पनि मलाई आफ्नै जन्मदिन खासै महत्वपूर्ण लाग्दैन । बरु प्रत्येक वर्ष कुनै आकाशवाणीबाट “तँ बूढो भइछस्” भनेको जस्तो लाग्छ यी जन्मदिनहरू ।

केही समय पछि स्मृतिहरू पनि धमिलो हुने रहेछन् । सायद स्मृतिहरूलाई पनि बेलाबेलामा नवीकरण गर्नु आवश्यक हुने रहेछ । एउटै जुनिमा जसरी विविध स्मृतिहरू जम्मा भएका छन् सम्झिँदा यी सबैको न्यास्रो लाग्ने रहेछ । भनिन्छ जीवन भनेको सम्झनै सम्झनाको माला हो । बाल्यकालमा छिमेकी भाइबहिनीको जन्मदिन मनाएका पलहरू स्मरणीय छन् । ति जन्मदिन दुई कुराले विशेष हुने गर्दथे – नेपाली फिल्म र केक । तर यस बिचमा आफ्नै जन्मदिनको भने सम्झना हुँदैन थियो । जन्मदिन नियमित दिनकै स्वभाविक स्विकारोक्ति जस्तो लाग्थ्यो हामी सबैलाई । आज पनि मलाई जन्मदिन नियमित दिनकै निरन्तरता जस्तो लाग्छ ।

विद्यालयका दिनहरूमा हाजिरजवाफका प्रश्नोत्तरमा ज्यादा रुचि थियो । समयसँगै हाजिरजवाफका प्रश्न उत्तरहरू बोरिङ लाग्ने भएका छन् । सायद जीवनमा सम्बन्धहरू मात्रै होइन हाम्रा रुचिहरूको पनि एक्सपाइरी मिति हुने रहेछन् । सुरुका दिनमा अखबारको खेलकुद पृष्ठ सुरुमै हेर्ने गर्थे । विस्तारै त्यो रुचि अखबारको विचार पृष्ठहरूमा बसाइ सर्यो । सायद जीवन भनेको विचार र भावना बिचको ओहोरदोहोर पनि हो । कहिलेकाँही यो ओहोरदोहोरले मानिसलाई थकित गराउँछ भने कहिलेकाहीँ रोमाञ्चित ।

कहिलेकाँही लाग्छ जीवन संयोग हो । मैले थुप्रै मानिसलाई त्यस्तै संयोगले भेटेको छु । त्यसैले जीवनको अर्को सुन्दरता भनेको यसको आकस्मिकता रहेछ । शहरहरू यस्तै आकस्मिकताको सामूहिक अभिव्यक्ति जस्तो लाग्ने रहेछ । शहर चिसो पनि लाग्छ र कहिलेकाहीँ एउटा आउटसाइडरका लेन्सले बिरानो पनि । तर शहरको रोमाञ्चकताले भने यसलाई सधैँ अर्थपूर्ण केन्द्र बनाउने रहेछ । मेरो हुर्काई पनि शहर र गाउँबीचको ओहोरदोहोरबीच भए जस्तो लाग्छ । यस ओहोरदोहोरले दुबै ठाउँ परिचित जस्तो लाग्ने रहेछ तर कहिलेकाँही दुबै ठाउँका लागि एउटा आउटसाइडर जस्तो बनाउने रहेछ ।
***
यस वर्ष फुपू दिदी बिते पछि मलाई जीवनको क्षणभङ्गुरताको गहिरो महसुस भएको छ । एउटा मानिसको अनुपस्थितिले अनुहारमा गहिरो उदासी ल्याउने रहेछ । एउटा मानिसको अनुपस्थितिले कति विषयहरू सदाका लागि गायब हुने रहेछन् । हामीले केही कुरा निश्चित मानिससँग मात्र गर्न सक्ने रहेछौ । यसरी एउटा मानिसको अन्त्यसँगै हामीले आफ्ना अभिव्यक्ति पनि गुमाउने रहेछौ ।

विद्यालयका प्रिय गुरुले कुनै एक दिन भन्नु भएको थियो – “जीवनमा कोही र केही पनि अनिवार्य छैन” । जतिबेला मैले यो वाक्य पढे यो सत्य जस्तो लागेको थियो । वर्षौंसम्म मलाई यस्तै लागिरहेको थियो । तर केही मानिसको उपस्थिति वा अनुपस्थितिले भने असाधारण फरक पार्ने रहेछ । जीवनलाई मानवीय सम्बन्धहरूको विस्तारको आलोकमा पनि हेर्नु पर्ने रहेछ । सायद हाम्रा सम्बन्धहरूको सुन्दरता भनेकै हामीसँग गुनासो गर्ने सक्ने सुविधाहरू छन् । जुन दिन हामी गुनासो गर्न सक्दैनौ सायद सम्बन्धहरू चिसा भएका हुन्छन् वा त्यसले आफ्नो सान्दर्भिकता गुमाएको हुन्छ ।
***
आज माघ १६ – मेरो जन्म दिन ।

कलाकार हरिवंश आचार्यले कतै भनेका छन् “ मलाई जन्मनु अघि सोधेको भए म जन्मिने थिइन” । सायद मलाई पनि म जन्मनु अघि सोधेको भए मेरो पनि हरिवंशको जस्तै जवाफ हुन्थ्यो । यि त भए परिकल्पनाका कुराहरू । माघको कुनै साँझ बौद्धबाट फर्किदै गर्दा मैले मेरो साथीलाई सोधे “ तपाईंलाई के कुराले निराश बनाउँछ ?” सबथोक भएर पनि म किन निराश छु भन्ने कुराले मलाई निराश बनाउँछ , उहाँले जवाफ दिनु भयो । सायद मानिसका खुशी र निराशा नितान्त निजी अनुभव हुन । यि निजी अनुभुति समयको विकासक्रमसँगै फेरिदै जान्छन् । भनिन्छ समयको विकाससँगै विरोधाभासहरू उत्पन्न हुँदै जान्छन् । मलाई पनि जीवनलाई आफ्नै विरोधाभासहरूको आलोकमा बुझिनु पर्दछ जस्तो लाग्छ ।

कुनै एउटा वर्ष एकजना साथीले जन्मदिनको शुभकामना दिने क्रममा भनेको वाक्य सम्झन्छु , “सायद हामी आफ्ना नजिकका मानिसलाई प्रत्येक दिन नै शुभकामना दिन्छौ , त्यसैले तिमीलाई केही पनि नभनौ जस्तो लागेको थियो । तर फेरि लाग्यो जन्मदिन हामीले प्रत्येक दिन दिने शुभेच्छाहरु अभिव्यक्त गर्ने दिन हो । त्यसैले तिमीलाई जन्मदिनको अपरिमित शुभकामना ”।
***
एउटा मोडबाट अर्को मोडमा जादा हामीलाई पहिलेको घुम्तीका सम्झनाहरू आइ राख्छ । नयाँ घुम्तीको सार्थकता नै नवीन परिवेशलाई आत्मसात गरे पछि सुरु हुने रहेछ । जीवनका सत्यहरू पटक पटक परिवर्तन हुने रहेछन् । सायद हाम्रा जीवनका सत्यहरू परिवर्तन भइ रहन्छन् । हाम्रा लागि पाँच वर्ष अघि महत्वपूर्ण लाग्ने विषय आज अर्थहीन हुन सक्छन् । सायद यही क्षणभङ्गुरता नै जीवनको सुन्दरता रहेछ ।

मानव जीवनका सम्बन्धहरूका अनेक पहेली छन् । यो सायद पत्रहरूमा छन् । सम्बन्धका जटिलता र त्यसले हामीमा ल्याउने आन्तरिक द्वन्द्व सायद निरन्तर प्रकिया हो । जीवन कुनै सरल रेखामा नहिँड्ने रहेछ । यसले त नदिले जस्तै बाङ्गाटिङ्गा बाटाहरू रोज्ने रहेछ । कहिलेकाँही लाग्छ , केही मानिसलाई मैले अलि छिटो भेटेको भए कति गज्जब हुन्थ्यो होला । अनि कहिलेकाँही लाग्छ केही मानिससँग कहिल्यै नभेटेको भए पनि गज्जब हुन्थ्यो । तर यी सबै निष्कर्ष भने हामीले मानिसहरूसँग सङ्गत गरे पछि , उनीहरूका विचार सुने पछि बनाउने रहेछौ । यसर्थ, हरेक सम्बन्धहरूले दिनहुँ परीक्षा दिइरहेको हुन्छ । हामीले हाम्रा सहजता अनुसार उनीहरूलाई कहिले अनुत्तीर्ण गर्छौ त कहिले मौका परीक्षा दिन्छौ ।

सायद हामीले हाम्रा जीवनका सीमितता र हाम्रा आफ्नै अपेक्षाहरूका आलोकबाट आफैलाई बुझ्न सक्छौ । हामीले पहिले न्याय गर्न पर्ने मानिस हामी स्वयम् रहेछौ । हाम्रा सुन्दर सम्बन्धहरू हाम्रा आन्तरिक उज्यालोहरुको विस्तार रहेछ ।

आज माघ १६ – मेरो जन्म दिन ……. !

बाल्यकालमा जन्मदिन गायब भएको जस्तो लागे पनि अचेल चाहेर पनि बिर्सन नसकिने रहेछ । सायद सुन्दर हृदयहरूको वरिपरि हुनुले नै यी दिनहरू यादगार हुने रहेछन् ।

***


Comments

  1. Happy birthday 🌸

    ReplyDelete
  2. आफूलाई आफ्नो जन्म दिन विशेष नलागेपनि आफू नजिक रहेका प्रिये मान्छेहरूलाई आफू जन्मेको क्षण र दिन विशेष लिगिदिदो रहेछ क्यारे
    सायद
    यिनै कुरा सम्झेर होला आज त तिम्रो जन्मदिन कस्तो लागिरहेको छ भनेर कसैले सोध्दा मुस्कान सहित खुसी लागेकोछ भन्ने गरेको छु ।

    यसै दिनमा मेरा लागि आउने शब्द वा वाक्य लाई हाँसेर लिने गरेको छु।

    ReplyDelete
  3. Happy birthday achyut 🎉🎉🎉

    ReplyDelete
  4. Happy birthday Achyut😍🎉🎉

    ReplyDelete
  5. Janmadin ko dherai subhakamana sathi balyakalma harayeko janmadin umer dhalkidai garda harek din yaad huncha kinaki sangrashaka ka din haru janmadin sanga daajine garxa.

    ReplyDelete
  6. Happy birthday brother. May your pen write things that couldn't be spoken about.🌟

    ReplyDelete

Post a Comment

Popular posts from this blog

प्रेमको किनार

“म को हुँ?” भन्ने मैले बुझाउन नपाउँदै  हामीले फरक फरक बाटोहरू रोज्यौँ यदि चिनेको भए म को हुँ तिमीले वा बुझाएको भए मैले सायद तिमीले गर्ने थियौ एउटा अग्लो प्रेम  वा गर्ने थियौ सबैभन्दा ठुलो घृणा घृणा नै सही त्यो तिम्रो हृदयको अभिव्यक्ति हुने थियो  प्रेम होस वा घृणा ति सबै इमानदार हुने थिए  आज नदिको अर्को किनारमा उभिएर तिमीले न प्रेम गर्न सकिरहेकी छौँ न घृणा ! लाग्छ एउटा रिक्तताले म घेरिरहेको छु  कुनै क्याफेको कुनाको कुर्चीमा बसेर  म टोलाइरहेको छु  यी रिक्तता कसरी भरिन्थे  यदि तिमी आएको भए मेरा पाइलाहरू पछ्याउँदै वा यदि मैले साहस गरेको भए तिम्रा पदचापहरू पछ्याउँने ! हामी नदिको दुई किनारमा उभिरहेका छौँ  लाग्छ हामीले आफ्ना अस्तित्व जोगाउन भए पनि दुई विपरित किनारमा उभिरहनु पर्दछ  लाग्छ हामीले फरक फरक बाटोहरूमा हिँडेर जोगाइरहेका छौँ आफ्नो आफ्नो पहिचान ! तिमी आएकी भए पनि त जाने थियौ कुनै दिन  एउटा भव्य महाप्रस्थानमा लाग्छ तिमी आएकी भए पनि  मैले जुनसुकै वेला गर्नु पर्थ्यो बिदाइको तयारी तिमी आएनौ र तिमीले मलाई लगाएको सबैभन्दा ठुलो गुन यह...

छुट्टि

उसले पहिलो छुट्टि मालिकसँग माग्यो र, गाउँभरि उ लाहुरे घोषित भयो पहिलो विदामा उसको घरले एउटा नयाँ जस्तापाता पायो र, बा-आमाका मुहारले मुस्कान पायो !   उसले दोस्रो छुट्टि मालिकसँग माग्यो र गाँउभरि उ नयाँ बेहुला घोषित भयो दोस्रो विदामा उसले घरमा दुलहि ल्यायो र, श्रिमानको ताज पहिरिएर उ फर्कियो !   आफ्नो तेस्रो छुट्टिमा उ निकै हतारिएको थियो र गाउभरि उ छोरिको पिता घोषित भयो छोरिको मुहारमा आफ्नो भविश्य देख्यो देख्यो एउटा नयाँ आशा र नौलो विहानि यसरि पिताको जिम्मेवारि लिएर उ फर्कियो !   आफ्नो चौथो छुट्टिमा उ घर आयो यसपटक उ वेचैन थियो र गाउँभरि उ शोकाकुल छ भन्ने घोषणा भयो यसरि आफ्ना बा-आमाका तस्विर र सम्झना लिएर उ फर्कियो !     यसपटक छुट्टिमा आउँदा उ मलिन थियो र गाउँभरि उ छोरिको माइति घोषित भयो यसरि आफ्नो प्रिय छोरिलाइ विदा गरेर मन भारि बनाउँदै उ फर्कियो !   यसपटक उसले मालिकसँग अन्तिम छुट्टि माग्यो यसपटक उ मौन थियो उ शान्त थियो उसमा कुनै वेचैनि थिएन उ त नदिको किनारमा निदाइरहेको थियो जसले आफ्नो पसिना र जवानि मालिक र परदेशलाइ दिएर थाकेको थियो यसरि, गाउँभरि श्रिमतिलाइ वि...