Skip to main content

मेसी - एक जादुगर

मेरो मेसीसँगको पहिलो परिचय टेलिभिजनका पर्दामा भएको होइन । मैले पत्रिकाका खेलकुदका पानाहरूमा मेसीलाई पढे । उनी फिफा वर्ष खेलाडी भए र चर्चाको केन्द्रमा आफूलाई उभ्याए । उनको तुलना डिएगो म्याराडोनासँग भयो । उनको खेल्ने शैली पनि उनै म्याराडोनासँग तुलना हुन थाल्यो । मैले मेसीलाई पहिलो पटक खेलाडी भन्दा पनि एउटा सुन्दर मिथको रुपमा चिने ।

*** 

२०२२ को डिसेम्बरको एक साँझ कतारको लुसेल रङ्गशालामा मेसी र उनको टिम अर्जेन्टिना विश्व विजेता बन्यो । यो सँगै मेसीले जित्न बाँकी केही रहेन अब । फुटबल पारखीको मन पटक पटक जितेका उनै लियोनल मेसीले गोल्डेन बल पनि जिते र प्रतियोगिताको उत्कृष्ट खेलाडी बने । गोल्डेन बल त मेसीले २०१४ मा नै जितेका थिए । तर यसपालिको जितमा उनका आँखामा आँशु थिएन । यति कतै आँशु थियो भने त्यो हर्षको आँशु थियो ।

*** 

विश्वकप आयो । मेसीको टिम आयो । कोचको रुपमा म्याराडोना आए । 

पहिलो पटक स्कुलको साथीले म्याराडोनाको बारेमा रोचक कहानी भनेको थियो। उसले विश्वकपमा म्याराडोनाले हातले गोल गरेको कथा रोचक तरिकाले सुनायो । पछि थाहा पाए स्वयम् म्याराडोनाले ह्यान्ड अफ गड भनेको उक्त गोल १९८६को विश्वकपको रहेछ इङ्ल्याण्ड  विरुद्धको ।

 दुबै हातमा घडि लगाउने कोच म्याराडोनाको बारेमा थुप्रै चर्चाहरू भए। क्रिष्टियानो रोनाल्डो र मेसीको तुलना गर्दै उनीहरूका जीवन गाथाहरू आए । वायुमण्डल पुरै विश्वकपले भरियो ।

विश्वकपको सुरुवातसँगै साथीको जन्मदिन आयो । सबै जना मिलेर फुटबल उपहार दियौँ । उपहार पाएको भोलिपल्ट देखि  उसले विद्यालयमा त्यही नयाँ फुटबल ल्याउन थाल्यो । त्यसपछि हामी त्यही फुटबलको पछि लाग्यौ । टेलिभिजनको स्क्रिनमा र स्कुलको चउरजतासुकै फुटबल हुन थाल्यो ।

जर्मनीसँग ४-० ले हारे पछि मेसीको टिम घर फर्कियो । म्याराडोना निराश भए । मेसी निराश भए । हामी निराश भयौँ । यसरी २०१०को विश्वकप सकियो ।

***

२०१४ आयो । विश्वकप आयो । फाइनलमा अर्जेन्टिना पराजित भयो जर्मनीसँग । मेसीले गोल्डेन बल पाए । विश्वकप ट्रफीलाई नियालिरहेका मेसीको आँखामा आँशु थियो । मलाई निदा फाजिलको गजलको सम्झना हुन्छ मेसीको त्यो क्षणको तस्विर हेर्दा । कसैको भाग्यमा पनि सबथोक लेखिएको हुन्न। कतै टेक्ने धर्ती हुन्न कतै हेर्ने आकाश हुन्न ।

मेसी निराश भए । हामी निराश भयौँ । यसरी २०१४ को विश्वकप सकियो ।

***

२०१८ पनि आयो । यतिबेला सम्म मेसीले विश्वकप र कोपा कपको फाइनलमा पराजय भएर आफ्नो राष्ट्रलाई कुनै महत्वपुर्ण उपाधि जिताउन सकिरहेका थिएनन् । मेसीलाई मात्रै होइन उनलाई मन पराउने हामी सबैलाई पनि यहि प्रश्नले घोचिरहेको हुन्थ्यो । यस विश्वकपमा प्रि-क्वाटरफाइनलमा फ्रान्ससँग पराजित हुन पुग्यो अर्जेन्टिना । यहि फ्रान्स विश्व विजेता पनि बन्यो ।

क्लबका लागि जित्न बाँकी केही थिएन मेसीका लागि । तर देशका लागि जित्न बाँकी धेर थोक थियो । यस  बिचमा कोपा कपको फाइनलमा पराजित भइरहेने अर्जेन्टिना । सन्यास लिएर पछि फिर्ता गरेका मेसी । फाइनलमा पराजित मेसीको आँशुले भरिएको अनुहार । उनका प्रशंसकले देख्न बाँकी कुनै उतारचढाव थिएन ।

*** 

मेसी ३५ वर्षका भइसकेका थिए । म्याराडोना महाप्रश्थानमा हिडिसकेका थिए । रङ्गशालामा मेसी र अर्जेन्टिनाला हौसला दिइरहेने म्याराडोनालाई क्यामेराले देखाउन नपाउने भयो २०२२को विश्वकपमा । समुह चरणको पहिलप खेलमा नै साउदि अरबसँग हार व्योहर्न पर्यो अर्जेन्टिनाले । 

तर सम्मालिदै खेल्यो । लाग्थ्यो मेसीलाई विश्वकप जिताउन उनका सहकर्मि उत्साहित छन् । त्यसतै भयो २०२२ को डिसेम्बरको एक साँझ । २०२२ को डिसेम्बरको एक साँझ कतारको लुसेल रङ्गशालामा मेसी र उनको टिम अर्जेन्टिना विश्व विजेता बन्यो । यो सँगै मेसीले जित्न बाँकी केही रहेन अब । रोमाञ्चक खेलमा पेनाल्टि सुट आउटमा अर्जेन्टिना विश्व विजेता बन्यो । मेसीले गोल्डेन बल पाए । मेसीले विश्वकप जिते ।

***

फ्रान्स र अर्जेन्टिनाको उक्त फाइनलमा फ्रान्सका खेलाडी केलियन एमबाप्पेले ह्याट्रिक गरे । २३ वर्षे एमबाप्पे उदाउँदो सुर्य हुन भने ३५ वर्षिय लियोनल मेसी अस्ताइरहेका सुर्य हुन् । भनिन्छ “उदाइरहेको सुर्यको रंग रातो हुन्छ । अस्ताइरहेको सुर्यको रंग पनि रातो हुन्छ । प्रतिभावान मानिसहरुका लागि उदाउनु र अस्ताउनु एउटै हो।” खेल जीवनका अन्तिम वर्षहरुमा पनि मेसीले गोल मात्रै होइन सुन्दर एशिस्ट पनि गरेका छन् । यस विश्वकपमा उनले ७ गोल तथा ३ एशिस्ट गरे । यसरी मेसीले आफ्नो खेल जिवनको अन्तिम अध्यायको  सुन्दर ढङ्गले लेखे। 

हाम्रो समयको फुटबलका सुन्दर हस्ताक्षर हुन मेसी। उनै मेसीको प्रेरणाले अर्जेन्टिना विश्व विजेता बनेको  छ । केबल उपाधीले मात्रै नायकलाइ महान बनाउदैन । तर यो युगकै सुन्दर खेलाडीलाई आज विश्वकप उपाधिले अझ सशक्त बनाएको छ ।

आज मेसी र उनको देशले उपाधि जित्दा म्याराडोना यो संसारमा छैनन् । सायद उनी भएको भए रङ्गशालामा खेल हेरिरहेका हुन्थे र  बारम्बार क्यामेराले उनलाई पनि देखाउँने थियो । अब उनै महान म्यारोडोनाको नामको लहर सँगै मेसीको पनि आउनेछ । एकपटक विपिले भनेका थिए, “ मानिसको सफलता उसका उपलब्धिबाट होइन उसका प्रयासहरुका घनत्वहरुबाट नापिनु पर्दछ ।” सायद पाँचौ प्रयासमा विश्वकप जित्न सफल मेसी उनका उपलब्धिबाट होइन उनका प्रयासबाट अझ सुन्दर देखिन्छन् । 

***



Comments

  1. Really so nice , keep glowing brother 🌟

    ReplyDelete
  2. Beautiful exposition of an extraterrestrial soccer player of all time with his chequered career culminating in winning world cup 2022

    ReplyDelete

Post a Comment

Popular posts from this blog

जन्मदिनः एक आकाशवाणी !

इमानदार भएर भन्ने हो भने मलाई स्कुले दिनका कुनै पनि जन्मदिनको सम्झना छैन । बाल्यकालमा जन्मदिन गायब भएको जस्तो लाग्छ । हिउँदका चिसा दिन छिट्टै सकिने भएर पनि होला मलाई मेरै जन्मदिनको कुनै विषेश सम्झना छैन । आज पनि मलाई आफ्नै जन्मदिन खासै महत्वपूर्ण लाग्दैन । बरु प्रत्येक वर्ष कुनै आकाशवाणीबाट “तँ बूढो भइछस्” भनेको जस्तो लाग्छ यी जन्मदिनहरू । केही समय पछि स्मृतिहरू पनि धमिलो हुने रहेछन् । सायद स्मृतिहरूलाई पनि बेलाबेलामा नवीकरण गर्नु आवश्यक हुने रहेछ । एउटै जुनिमा जसरी विविध स्मृतिहरू जम्मा भएका छन् सम्झिँदा यी सबैको न्यास्रो लाग्ने रहेछ । भनिन्छ जीवन भनेको सम्झनै सम्झनाको माला हो । बाल्यकालमा छिमेकी भाइबहिनीको जन्मदिन मनाएका पलहरू स्मरणीय छन् । ति जन्मदिन दुई कुराले विशेष हुने गर्दथे – नेपाली फिल्म र केक । तर यस बिचमा आफ्नै जन्मदिनको भने सम्झना हुँदैन थियो । जन्मदिन नियमित दिनकै स्वभाविक स्विकारोक्ति जस्तो लाग्थ्यो हामी सबैलाई । आज पनि मलाई जन्मदिन नियमित दिनकै निरन्तरता जस्तो लाग्छ । विद्यालयका दिनहरूमा हाजिरजवाफका प्रश्नोत्तरमा ज्यादा रुचि थियो । समयसँगै हाजिरजवाफका प्रश्न उत्तरहरू बो...

प्रेमको किनार

“म को हुँ?” भन्ने मैले बुझाउन नपाउँदै  हामीले फरक फरक बाटोहरू रोज्यौँ यदि चिनेको भए म को हुँ तिमीले वा बुझाएको भए मैले सायद तिमीले गर्ने थियौ एउटा अग्लो प्रेम  वा गर्ने थियौ सबैभन्दा ठुलो घृणा घृणा नै सही त्यो तिम्रो हृदयको अभिव्यक्ति हुने थियो  प्रेम होस वा घृणा ति सबै इमानदार हुने थिए  आज नदिको अर्को किनारमा उभिएर तिमीले न प्रेम गर्न सकिरहेकी छौँ न घृणा ! लाग्छ एउटा रिक्तताले म घेरिरहेको छु  कुनै क्याफेको कुनाको कुर्चीमा बसेर  म टोलाइरहेको छु  यी रिक्तता कसरी भरिन्थे  यदि तिमी आएको भए मेरा पाइलाहरू पछ्याउँदै वा यदि मैले साहस गरेको भए तिम्रा पदचापहरू पछ्याउँने ! हामी नदिको दुई किनारमा उभिरहेका छौँ  लाग्छ हामीले आफ्ना अस्तित्व जोगाउन भए पनि दुई विपरित किनारमा उभिरहनु पर्दछ  लाग्छ हामीले फरक फरक बाटोहरूमा हिँडेर जोगाइरहेका छौँ आफ्नो आफ्नो पहिचान ! तिमी आएकी भए पनि त जाने थियौ कुनै दिन  एउटा भव्य महाप्रस्थानमा लाग्छ तिमी आएकी भए पनि  मैले जुनसुकै वेला गर्नु पर्थ्यो बिदाइको तयारी तिमी आएनौ र तिमीले मलाई लगाएको सबैभन्दा ठुलो गुन यह...

छुट्टि

उसले पहिलो छुट्टि मालिकसँग माग्यो र, गाउँभरि उ लाहुरे घोषित भयो पहिलो विदामा उसको घरले एउटा नयाँ जस्तापाता पायो र, बा-आमाका मुहारले मुस्कान पायो !   उसले दोस्रो छुट्टि मालिकसँग माग्यो र गाँउभरि उ नयाँ बेहुला घोषित भयो दोस्रो विदामा उसले घरमा दुलहि ल्यायो र, श्रिमानको ताज पहिरिएर उ फर्कियो !   आफ्नो तेस्रो छुट्टिमा उ निकै हतारिएको थियो र गाउभरि उ छोरिको पिता घोषित भयो छोरिको मुहारमा आफ्नो भविश्य देख्यो देख्यो एउटा नयाँ आशा र नौलो विहानि यसरि पिताको जिम्मेवारि लिएर उ फर्कियो !   आफ्नो चौथो छुट्टिमा उ घर आयो यसपटक उ वेचैन थियो र गाउँभरि उ शोकाकुल छ भन्ने घोषणा भयो यसरि आफ्ना बा-आमाका तस्विर र सम्झना लिएर उ फर्कियो !     यसपटक छुट्टिमा आउँदा उ मलिन थियो र गाउँभरि उ छोरिको माइति घोषित भयो यसरि आफ्नो प्रिय छोरिलाइ विदा गरेर मन भारि बनाउँदै उ फर्कियो !   यसपटक उसले मालिकसँग अन्तिम छुट्टि माग्यो यसपटक उ मौन थियो उ शान्त थियो उसमा कुनै वेचैनि थिएन उ त नदिको किनारमा निदाइरहेको थियो जसले आफ्नो पसिना र जवानि मालिक र परदेशलाइ दिएर थाकेको थियो यसरि, गाउँभरि श्रिमतिलाइ वि...