आफ्नो प्रिय दर्शकलाई वारम्बार एउटै कुरा दोहोराएर कुनै टक सो होस्टले मोह भंग गराएका छन् । यो लेखिरहदा मलाई पनि कुराहरु दोहोरिएर पढ्नेको मोह भंग होला भन्ने डर छ । स्थानिय चुनावको सँघारमा देश छ । यतिवेला सवैलाई चुनावको रंगले छोपेको छ । विस्तारै चुनावि गर्मि बढ्दै जानेछ । चुनावको पुर्व सन्ध्यामा म यो लेख लेखिरहेको छु । इमानदार भएर भन्ने हो भने यो लेख नलेखेको भए पनि हुन्थ्यो । तैपनि आफ्ना कुरा भन्ने यो उपयुक्त समय हो भन्ने लागिरहेको छ ।
म प्राय मेरो साथिहरुसँग भेट्ने गर्छु । केहि साथिहरुसँग बारम्बार भेट हुन्छ अनि हामी अनेक कुराहरु गर्छौँ । प्रसँगवस राजनीतिको विषय पनि आउँछ । चुनावको मौसममा त झन नआउने कुरै भएन । तर आज सुरुमा नाटकबाट प्रसंग सुरु गरौ ।
मण्डलामा “पल्पसा क्याफे” नाटक चलिरहेको थियो। म मेरा प्रिय दाइलाई नाटक हेर्न काठमाडौ आउन अनुरोध गरिरहेको थिए । चुनावको व्यस्तताले उहाँ आउनु भएन । म र मेरो साथि (एकजना प्रिय साथि चाहि समय अभावले छुट्नु भयो) भएर नाटक हेर्न गयौँ । संयोगवस उपन्यासका लेखक नारायण वाग्ले र त्यसका नाट्य रुपानतरण गर्ने सुरज सुवेदीको छेउमा वसेर नाटक हेर्ने मौका मिल्यो । म वेला वेलामा उपन्यासका लेखकलाई हेर्ने गर्थे । आफूले जन्माएका पात्रहरुलाई आफ्नै अगाडि पाउँदा कस्तो अनुभुति गरिरहेका छन् लेखक म हेर्ने कोसिस गरिरहेको थिए । युद्ध र प्रेम मिसिएको नाटकले हामीलाई फ्लास ब्याकमा पुर्याउँछ र वर्तमानमा आफ्ना नेतृत्वलाई प्रश्न गर्न प्रेरित गर्दछ ।
यो त भयो नाटकका कुरा । अचेल हामी सडकमा मानिसहरु नाचिरहेका देखिरहेका छौँ । यो पनि कुनै नाटक भन्दा कम कसरि हुन सक्छ । चुनाव लोकतन्त्रको अपरिहार्यता हो । यसर्थ, यो आवश्यक पनि छ । तर शासन सत्ता आफ्नो वागडोरमा हुँदा वारम्बार चुकेका नेतृत्वलाई खबरदारि गर्न सधैँ हिचकिचाउने कार्यकर्ता चुनावि गितमा नाचेको सारै झुर देखिने रहेछ ।
***
एकजना मेरा मित्रले मलाई उसको प्रिय स्वतन्त्र उम्मेदवारको वारेमा केहि लेख्न अनुरोध गरिरहेका थिए । मेरा अर्का मित्र भने स्वतन्त्र उम्मेदवारीले राजनीतिक दललाई निषेध गर्छ जुन लोकतन्त्रको लागि उपयुक्त होइन भन् पाठ पढाइरहेका छन् सामाजिक संजालमा । लोकतन्त्रमा राजनीतिक पार्टि नै अपरिहार्य हुन्छन् । यो सत्य हो । तर संविधानले नै स्वतन्त्र उम्मेदवारीको प्रावधान राखेकाले हामी सवैले यसलाई स्विकार्नु पर्दछ ।
प्रत्येक ठुला पार्टिले गठबन्धन नगरेको कुनै अर्को पार्टि रहेन । यसर्थ, यो ‘ठगबन्धन’को विषयमा एउटा पार्टिले अर्को पार्टिलाई हिलो छ्यापने काम आफैंमा झुर काम बन्न पुगेको छ । चुनाव जित्न ‘ठगबन्धन’ गर्ने यी पार्टिहरुले जनतालाई ठग्न भने फरक फरक पार्टि बनाएका छन् ।
प्रमुखमा नभए पनि उप-प्रमुखमा महिलाको प्रतितिधित्व हुने गर्थ्यो तर यो ‘ठगबन्धन’ले त्यो सम्भावनाको पनि अन्त्य गरेको छ । कम्तिमा अव यि पार्टि र यिनका नेताले सार्वजनिक रुपमा आदर्शका झुर गफ नगरुन् ।
लोकतन्त्र भनेको छनोटको अधिकार पनि हो । तर हाम्रा नेतालाई सत्ता बाहेक बाँकि कुरा भ्रम लाग्छ । यसरि , नागरिकको छनोटको अधिकार संकुचित गराउनेले पनि सार्वजनिक रुपमा लोकतन्त्रको हिमायतिको भ्रम बेच्न बन्द गर्नु पर्दछ ।
एउटा दल छ जसलाई भ्यु टावर प्रति मोह छ । सवाल नेताहरुको अल्लारेपन प्रति मात्रै होइन । सवाल त तालि बजाउने ति झुर कार्यकर्ता प्रति हो । वर्तमान नाफा घाटाको जोड घटाउले चल्ला तर इतिहासको कठघरामा उभिएर निर्मम समिक्षा गर्दा अनुत्तिर्ण हुने छन् यि सवै ।
***
सामाजिक संजालका भित्ता रंगिएका छन् । अचेल सामाजिक संजाल आफ्नो (अ)पहुँच देखाउने चौतारि बनेको छ । तपाइको राजनीतिक योगदानको सार भनेको ठुला भनिएका नेतासँग खिचेको फोटो देखाउने र उनिहरुको जन्म दिनमा अनेक लेखेर आफ्नो (अ)पहुँच प्रमाणित गर्ने । इमानदार भएर भन्ने हो भने हाम्रो पुस्ताले प्रश्न सोध्न विर्सेको छ । सायद विर्सेको छैन बरु उ भित्र लोभ छ । उ भित्र डर छ । यसरि जानेर नजानेर एउटा सचेत भनिएको युवा दासमा परिणत हुन्छ । कोहि ठुला दास बन्छन् । कोहि साना दास बन्छन् । आफ्नो आफ्नो योग्यता अनुसारको दास ।
कहिले काहि म मेरा नयाँ पुस्ताका साथिहरुलाई प्रश्न सोध्ने गर्दछु । प्राय म उत्तर सुनेर छक्क पर्छु । प्रत्येक मानिसका भिन्न भिन्न राजनीतिक झुकाव हुन सक्छन् । वा कोहि तटस्थ पनि हुन सक्छन् । तर जव सवाल लोकतनत्रको आउँछ तपाईले यस प्रति आफ्नो पक्षधरता प्रस्तुत गर्नु पर्ने हुन्छ । यो नागरिक दायित्व पनि हो ।
राजनीतिमा प्रत्यक्ष सहभागि नहुनु आफ्नो छनोटको विषय हुन सक्छ । तर जव प्रश्न सोध्ने बेला आउँछ हामीलाई आफ्नो वेहोसि प्रदर्शन गर्ने छुट हुदैन् । समग्र नयाँ पुस्तालाई आफ्ना नेतृत्व प्रति आलोचनात्मक हुन आवश्यक छ ।
यहाँ स्वर्णीम वाग्लेले कान्तिपुरको अन्तर्वार्ता भनेको भनाइ सान्दर्भिक हुन्छ “समग्र राजनीतिको मक्सद आम आर्थिक समुन्नति होइन, व्यक्तिगत र गुटगत अर्थसंग्रह बनेको छ । अर्थात्, राजनीतिमा टिक्नु नै मुख्य ध्येय भइरहेको छ । र त्यसका लागि जुटाउनुपर्ने अवैध पैसा नै राजनीतिको उद्देश्यजस्तो देखियो । जबकि, राजनीतिको लक्ष्य परिवर्तन र देशको समुन्नति हुनुपर्ने हो ।” आज राजनीति नेपालको सन्दर्भमा एउटा उधोग भएको छ । त्यस्तो उधोग जसले केवल नाफा मात्रै सृजना गर्दछ केहि सिमित मानिसहरुका लागि ।
***
एक क्रान्ति
एक प्रजातन्त्र
एक चुनाउ
र एक भोट हुँ
केबल एक भोट हुँ !
- भूपी शेरचन
यदि हाम्रो पुस्ता सचेत भएर नेतृत्वलाई खबरदारि गर्ने हो भने मात्रै लोकतन्त्र संस्थागत हुन्छ र ढिलो चाँडो देशले उचित दिशानिर्देश पाउँनेछ । आउनु होस यो पटकको निर्वाचनमा सहि प्रतिनिधिलाई छानौँ । आउनु होस यस पटक योग्य उम्मेदवारलाई चुनावमा विजयि वनाउ । नभए माथि भूपी शेरचनको कविताका पक्ति जस्तै हामी केबल एक भोट हुने छौँ !
***
राम्रो छ ।
ReplyDeleteFully concerted and really compelling blog with convincing rationale
ReplyDeleteCorrect
ReplyDelete