जीवनका ती मोडहरु जहाँ तिम्रा सुन्दर आँखाहरु भेटिन्छन् जीवनका ती घुम्तिहरु जहाँ तिम्रा मुस्कानहरु पोखिन्छन् जीवनका ती बाङ्गाटिङ्गा गल्लिहरु जहाँ तिम्रा पदचापहरु भेटिन्छन् ती सवैलाइ नियाल्नु छ एकपटक ! जोखेर तिम्रा स्नेहरुको घनत्व तौलेर तिम्रा करुणाहरुको गुरुत्व नापेर तिम्रा व्यक्तित्वको विराटता निशव्द हुनु छ एकपटक ! उदाउनु र अस्ताउनु भन्दा पर स्वागत र विदाइ भन्दा पर स्विकारोक्ति र अस्विकारोक्ति भन्दा पर तिमीलाइ महशुस गर्नु छ एकपटक ! तिम्रा प्रत्येक वाणिमा खोज्नु छ दर्शन तिम्रा प्रत्येक वाक्यमा खोज्नु छ जीवनको अर्थ तिम्रा प्रत्येक हेराइमा खोज्नु छ दृष्टिकोण एकपटक ! जूनेलि रातमा खोज्नु छ आकाशमा तिम्रा आकृति, खोलाको किनारमा खोज्नु छ वालुवामा तिम्रा पदचापहरु, खोज्नु छ समयका फेदमा जम्मा भएका रिक्तताहरु अनि भर्नु छ त्यसलाइ तिमीले गुनगुनाएका ध्वनिहरुले एकपटक !