तिम्रो जन्मदिनमा के उपहार दिउँ तिमीलाई
सुन्दर पेन्टिङ उपहार दिउँ भने
तिमीभन्दा सुन्दर केहि छैन यहाँ
गीत उपहार दिउँ भने
तिम्रा सुन्दर आँखाहरुले गाउने गीत
सबैभन्दा सुन्दर छन्
साँच्चै के उपहार दिउँ तिमीलाई
तिम्रो जन्मदिनमा !
सूर्यको जस्तै उज्यालो किरण
उपहार दिउँ भने तिमीलाई
फिक्का हुन्छ
तिम्रो मुहारको आभा अगाडि
साच्चै के उपहार दिउँ तिमीलाई
तिम्रो जन्मदिनमा !
सोच्छु हिमालहरुको मुस्कान दिउँ
फेरि लाग्छ तिम्रो भव्य मुस्कान अगाडी
त्यो पनि आफूलाई होचो महसुस गर्छ होला
तिम्रो कपाललाइ छोएर गएको
त्यहिं हावा तिमीलाई उपहार दिउँ भने
हावा पनि लजाउँछ होला तिम्रो अगाडी उभिन
साँच्चै के उपहार दिउँ तिमीलाई
तिम्रो जन्मदिनमा !
सोच्छु केहि अक्षरका हरफहरु दिउँ
फेरि लाग्छ तिमी आफै एउटा पुस्तक हौ
जसलाई मानिसहरु पढ्न जान्दैनन्
तिम्रा भव्य काव्यका अगाडी
ती हरफहरु गायब हुनेछन
तिम्रा सिर्जनशिलताका अगाडी
ती फिक्का हुनेछन
साँच्चै के उपहार दिउँ तिमीलाई
तिम्रो जन्मदिनमा !
सोच्छु तिमीलाई मौनता दिनेछु उपहारमा
फेरि लाग्छ वर्षौदेखि तिमी आफै मौन छौ
जीवनप्रवाहका अनेक घुम्तिहरुले
तिमीलाइ मौन बनाएको छ
तिम्रो मौनताको साक्षी भएको यस समयमा
साँच्चै के उपहार दिउँ तिमीलाई
तिम्रो जन्मदिनमा !
सोच्छु तिमी त यहिं हृदयमा छौ वर्षौदेखि
फेरि लाग्छ सँगै भएकालाई
म कसरी उपहार दिउँ ?
के आजसम्म कसैले आफैलाई उपहार दियो र ?
तिमी स्वयं उपहार बनेको यो भव्य दिनमा
के उपहार दिउँ म तिम्रो जन्मदिनमा !
This is amazing 🧡
ReplyDeleteamazing written skill.❤️ with wonderful words.❤️❤️❤️❤️
ReplyDeleteAs always wowwww.❤️
ReplyDelete