एक अञ्जुलि समय लिएर
यो शहरमा
ऊ पाहुना हुन आएको थियो
सायद यो शहरमा उसले
सबै पायो
पायो केहि स्वागतहरु
घुम्तिमा पर्खिरहेकि प्रेमिकाको आँखाहरु
चोकमा कुरिरहेका मित्रहरुका सुस्केराहरु
तर उसले पाएन यो शहरमा
आफ्नै छाया !
उसले आफूसँगै
थुप्रै प्रश्नहरका उत्तरहरु ल्याएको थियो
केही विवशताका उत्तरहरु
केही रहरका उत्तरहरु
केही सपनाका उडानहरुका कथाहरु
सँगै ल्याएको थियो
रित्तिएका आँशुका कथाहरु
हृदयको गहिराइमा वसेका
खतहरुका गीतहरु
तर उसले ल्याएको थिएन
यो शहरमा
आफ्नै छाया
किनभने उसको घामले
यो शहरलाई चिन्दैन्थ्यो !!
ऊ यो शहरमा
आफ्नो पुरानो जूनलाई
हेर्न आएको थियो
जसले रहरका पखेटाहरु हालिदिएको थियो
ऊ यो शहरमा
फेरि एकपटक आएको थियो !!!
घर फर्किरहेको मानिस
फेरि आउनेछ यो शहरमा
किनभने जादाजादै उसले
आफ्ना मन्दिरहरु
यहि बनाएर गएको थियो !!!!

Comments
Post a Comment